देश विदेश

विदेशी श्रमिकको विकल्पमा रोबोट बनाउन जोड | देश परदेश

शेयर गर्नुहोस्

मलेसियामा विदेशी श्रमिकको संख्या ठूलो छ । लाखौं विदेशी श्रमिक कार्यरत मलेसियामा उनीहरुले न्यूनतम मानविय व्यवहार नपाएको आवाज विशेषगरी पछिल्लो समयमा उठिरहेको छ । गार्जियन लगायतका सञ्चार माध्यमहरुले ग्लोव्स कम्पनीहरु, ईलेक्ट्रोनिक्स कम्पनीहरुले विदेशी श्रमिकको शोषण गरेको समाचार लगातार प्रकाशन गर्न थालेपछि हाल मलेसियामा एउटा नयाँ बहस सुरु भएको छ ।

विगत केहि समययता विश्व श्रम बजारमा बहसको एउटा विषय हो, अवको श्रम संसारको फेरिने तस्वीर । रोबोटले श्रमिकलाई प्रतिस्थापन गर्ने सम्भावनाका विषयमा विभिन्न कोणबाट पछिल्लो समयमा बहस, छलफलहरु हुँदै आएका छन् । मलेसियामा पनि विदेशी श्रमिकमाथि हुने गरेको शोषणको आवाज उठेपछि हाल रोबोट निर्माणमा तिव्रता दिइनु पर्ने र विदेशी श्रमिकमाथिको निर्भरता घटाउनु पर्ने विषयमा बहस थालिएको हो ।

मलेसियामा सडकमा मलेसियन नागरिकको तुलनामा विदेशीको संख्या धेरै देखिन थालेको र सामाजिक, साँस्कृतिक रुपमा पनि यसलाई घटाउनु पर्ने आवाज स्थानीयले उठाउन थालेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका विकसित मुलुकहरुमा पनि विदेशीको संख्या ठूलो भएपनि उनीहरु शिक्षित, दक्ष विदेशी हुने गरेको तर मलेसियामा भनें अदक्ष तथा शिक्षाको स्तर धेरै नभएका विदेशी श्रमिक आउने गरेका कारण दिर्घकालमा यसले मुलुकलाई समस्या हुने तर्क समेत उनीहरुले गर्न थालेका छन् । मलेसियामा हाल झण्डै २० लाख वैधानिक रुपमा कार्यरत विदेशी श्रमिक छन् भनें झण्डै त्यति नै संख्यामा अवैधानिक रुपमा बसेर कार्यरत रहेको अनुमान गरिन्छ । मलेसियामा विशेषगरी कलकारखाना, निर्माण, कृषि लगायतको क्षेत्रमा विदेशी श्रमिकको ठूलो सहभागिता छ ।

कार्यस्थलमा रोबोटको प्रयोग सिंगापुर तथा दक्षिण कोरियामा धेरै छ । सिंगापुरमा प्रति १० हजार श्रमिक बरावर ६ सय ३१ रोबोटको प्रयोग हुने गरेको छ भनें दक्षिण कोरियामा प्रति १० हजार श्रमिक बरावर ४ सय ८८ रोबोटको प्रयोग भइरहेको छ । मलेसियामा भनें प्रति १० हजार श्रमिक बरावर ३४ वटा मात्र रोबोटको प्रयोग गरिएको भन्दै रोबोटको प्रयोग बढाउन विज्ञहरुले सुझाव दिएका छन् । सन् २०३० सम्म चीनमा सबभन्दा धेरै रोबोट (स्वचालित यन्त्र) उत्पादन हुनेछ र त्यहाँ १ करोड ४० लाख औद्योगिक रोबोटहरू काममा हुने एउटा विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। यसले ठूलो संख्यामा श्रमिकको रोजगारी खोसिने पनि सो संस्थाको विश्लेषण छ । अनुसन्धानकर्ताहरुले अवको एक दशकभित्रै त्यहि रोबोटले २ करोड व्यक्तिको रोजगारी खाइदिनेछन्

उत्पादकत्वमा वृद्धि, मानविय श्रमका कारण आउन सक्ने चुनौतिको सामना गर्न पनि रोबोटको प्रयोग बढाउनु पर्ने माग यस क्षेत्रमा कार्यरतहरुले गर्न थालेको जनाइएको छ । कोभिड-१९ को समस्याले पनि विदेशी नागरिकहरुको ठूलो उपस्थीति भन्दा रोबोटको प्रयोग नै मुलुकका लागि सुरक्षित र दिर्घकालिन रुपमा उपयोगि हुने देखिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोभिड १९ को समस्या सुरु भएपनि साउदी अरेवियामा रोबोट मार्फत नै विरामी जाँच्ने व्यवस्था मिलाइएको थियो ।

चीन र अमेरिकाबीच चलिरहेको व्यापार युद्दको लाभका लागि पनि मलेसियाले रोबोटको प्रयोगलाई बढावा दिइनुपर्ने उनीहरुको तर्क छ । कृतिम वौद्दिकताको आवश्यकताका बारेमा प्रष्ट्याउँदै के काथिरगुगानले यसले हाल चीन केन्द्रीत बहुराष्ट्रिय कम्पनीहरुको आकर्षण मलेसिया तर्फ तान्न सकिने भन्दै यसमा विलम्व गर्न नहुने तर्क गरेका छन् । रोबोटले २४ घण्टा पनि काम गर्न सक्ने, नियमित रुपमा काम हुने, विदाको कुनै समस्या नहुने तथा त्यसले कुनै गुनासो नगर्ने भन्दै रोबोटलाई विदेशी श्रमिकको विकल्प बनाउन ढिलाई गर्न नहुने उनको भनाई छ ।

चीनमा हाल लाखौं रोबोटको प्रयोग भइरहेको र यसले विश्व बजारको ३० प्रतिशत रोबोटको हिस्सा ओगटेको भन्दै मलेसियामा पनि रोबोटको प्रयोग बढाउनु पर्ने तर्क गरिएको हो । चीनले सन् २०२५ सम्ममा रोबोटको प्रयोग अझ तिव्र बनाइने बताउँदै आएको छ ।

नेपालमा पनि केहि क्षेत्रमा नमुनाका रुपमा स्वदेशमा नै उत्पादित रोबोट मार्फत काम सुरु गरिएको छ । व्यवसायिक प्रयोजनका लागि ६ जना इन्जिनियरहरुको समुहले तयार पारेको परी नामको रोबोटले नेपाल एसबिआई बैंकमा काम शुरु गरेको छ । सो रोबोटलाई विश्व बजारमा पुर्याउने प्रयास नेपाली उत्पादकले गरेका पनि छन् । यसैगरी अस्पतालमा औषधि दिन, विरोध प्रदर्शनमा लगायतमा पनि नेपालमा कतिपयले रोबोटको प्रयोग नमुनाका रुपमा गर्न थालेका छन् । यसैगरी राजधानीकै एक होटलमा पनि वेटरमा रुपमा रोबोटलाई प्रयोग गरिएको छ जसलाई सो होटलले आकर्षणका रुपमा प्रयोग गरेको छ ।

बेलायतमा रोबोटले लेखेको लेख नै प्रकाशित भइसकेको छ जसले विश्वलाई तरंगित बनाएको छ । अंक, तथ्याँक केलाएर लेख्नुपर्ने लेखका लागि त रोबोटको प्रयोग अत्यन्त उपयोगि देखिइसकेको छ । व्लूमबर्ग, फोव्र्स जस्ता सञ्चार संस्थाहरुले रोबोटले लेख्ने लेखहरु प्रकाशित गर्दै आएको अन्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समयमा रोबोटको जुन तिव्र गतिमा विकास र प्रयोग विस्तार भइरहेको छ यसले चिन्ता पनि थपिएको छ । टेस्लाका एलन मस्क देखि माईक्रोसफ्टका बिल गेट्ससम्मले रोबोट उत्पादन नियन्त्रण हुनुपर्ने धारणा राखेका हुन् । संसारकै ठूलोमध्येको कम्पनी ‘ब्ल्याक रक’ ले करिव तीन बर्ष अगाडी केही कर्मचारी हटाएको थियो। कम्पनीको उच्च पदमा बस्ने र धेरै तलब पाउने कर्मचारी हटाएर उसले कम्प्युटर सफ्ट्वेयर र ‘अल्गोरिदम’ राखेको जनाएको थियो। यसलाई कतिपयले सामान्य प्रकृयाका रुपमा लिएपनि यले कसरी रोबोटले मान्छेको रोजगारी खोस्दैछ भन्ने घटना उजागर गरेको रुपमा लिनुपर्ने विज्ञहरु बताउँछन् ।

यो सन्दर्भमा टेस्ला कम्पनीका सिईओ एलन मस्कको एउटा भनाई उपयोगि ठगरिन्छ । उनी भन्छन् ‘हामी यो संसारका बुद्धिमान प्राणीको श्रेणीमा पर्ने छैनौं, रोबोटले हाम्रो मस्तिष्क क्षमता पराजित गर्छ। हामीमाथि अधिन जमाउन सक्छ। हामीले नै बनाएका चिजले हाम्रो विनाश गर्न सक्छ।’

२१ फाल्गुन २०७७, शुक्रबार


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2021/03/11784/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *