देश विदेश

अमेरिका पठाउने भन्दै ७४ लाख ठगी, तीन पक्राउ

शेयर गर्नुहोस्

नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेकाले पीडितलाई अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाई काठमाडौँमा रहेका भुसाललाई सम्पर्क गरेर भुसालमार्फत तीन व्यक्तिले ठगी गरेको जानकारी दिनुभयो ।

“पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी रु २५ लाख ठगी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।

केहि हप्ता अघि मात्र  क्यानडा र युरोप working visa मा पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गर्ने २ पक्राउ परेका थिए।

यो सम्बन्धि समाचार पढ्न तल हेर्नुहोस।  

रोजगारीको लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

वर्किङ भिसामा क्यानडा जान पाइने आशामा १७ लाख डुबाएकी सर्लाही लालबन्दीकी ३० वर्षीया यमुना बस्नेतले प्रहरीमा उजुरी गरेपछि ठगी प्रकरण सार्वजानिक भएको हो।

काभ्रे पाँचखाल तामघाट घर भइ हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारीले बस्नेतबाट क्यानाडाको राम्रो कम्पनीमा काम लगाइदिने भन्दै १७ रुपैयाँ लिएका थिए। रकम लिएर विभिन्न बाहना बनाइ रहेका अधिकारी पछि सम्पर्कविहिन भएका थिए।

सम्पर्कविहिन भएपछि बस्नेतले १३ बैशाखमा महानगरीय अपराध महाशाखामा जाहेरी दरखास्त दिएकी थिइन् । खोजतलास गर्ने क्रममा अधिकारीलाई महाशाखाको विशेष टोलीले १७ असारमा काभ्रे बनेपाको दाहाल गाउँबाट पक्राउ गरेको छ।

प्रहरी अनुसन्धानमा अधिकारीले विभिन्न व्यक्तिलाई क्यानडालगायतका मुलुकमा वर्किङ भिसामा पठाइदिने प्रलोभन देखाएर एक करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ । महाशाखाले अधिकारीबाट ठगीएका अन्य पीडित भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।