देश विदेश

लिमचुङबुङमा भ्युटावर बनाउन जमिन अधिग्रहण प्रक्रिया सुरु

शेयर गर्नुहोस्

उदयपुरको लिमचुङबुङ गाउँपालिकाले अघि सारेको महत्वाकांक्षी योजना ‘एभरेष्ट भ्युटावर’ निर्माण कार्यले लय समात्ने भएको छ । लिमचुङबुङ ३ को भैयोचुङ (दोबाटे डाँडा)मा प्रस्तावित भ्युटावर निर्माण्या कार्य जमिन व्यवस्थापन हुन नसक्दा अलपत्र परेको थियो ।

पटकपटकको प्रयासबाट जमिन व्यवस्थापनको समस्या टरेपछि अब छिट्टै भ्युटावर बनाउने निश्चित भएको गाउँपालिकाले जनाएको छ । प्रस्तावित भ्युटावरका लागि चाहिने जमिन व्यक्तिको नाममा भएको पाइएपछि दुईवर्षयता जमिन व्यवस्थापनमा लागिरहेको गाउँपालिका समस्या टार्न सफल भएको हो । जमिनको समस्या टर्नेबित्तिकै टावर बन्ने निश्चित भएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए ।

अध्यक्ष राईले प्रस्ताव गरेको ठाउँमा टावर बनाउन आर्थिकवर्ष ०७५/७६ कै गाउँसभाले योजना छनौट गरी विस्तृत परियोजना प्रतिबेदन (डिपिआर)समेत गरेको थियो । तर, जग्गा व्यवस्थापनको कानुनी प्रक्रिया अघि बढाउँदा झण्डै २ दर्जन व्यक्तिको नाममा जमिन दर्ता पाइएपछि योजना सुरु हुन नपाएको अध्यक्ष राईले बताए । व्यक्तिगत जमिन टावरका लागि गाउँपालिकाले माग्दा सहमति नजुटेपछि उब्जेको समस्या जनप्रतिनिधि र प्रशासनबीचको समन्वयबाट अहिले समाधान भएको प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए ।  

अधिकृत लिम्बुले प्रस्तावित टावरस्थल साविक बाराहा गाउँ विकास समिति ६ नं. वडाको १ सय १३ रोपनी जमिनमध्ये ९१ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा पाइएको बताए । उनले भने ‘टावर त्यतिबेलै बनाउन खोजिएको थियो, तर धेरैजसो जग्गा व्यक्तिको नाममा भएकाले काम ढिला भएको हो ।’ व्यक्तिगत जमिन गाउँपालिकाले अधिग्रहण गर्न समय लागेर झण्डै दुईवर्ष अल्मलिएको टावर निर्माणको काम गर्ने बाटो अहिले खुलेको उनको भनाई छ ।  

टावरका लागि चाहिने जमिन व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयबाट जग्गाको मूल्य तोकेर मुआब्जा दिने प्रक्रिया अघि बढिसकेको छ । टावर बनाउन चाहिने जमिन गाउँपालिकाको नाममा दर्ता गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि व्यवस्थापन समितिको बैठकले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार सिडिओ चक्रपाणी पाण्डेको अध्यक्षतामा गत पुस २४ गते बसेको बैठकले ९१ रोपनी ३ आना १३ पैसा ८ दाम जग्गा प्रति रोपनी जमिन अघिग्रहण गर्ने निर्णय भएको छ । अधिग्रहण गर्न चलनचल्तीको मूल्य र सरकारी मूल्यलाई समायोजन गरी प्रति रोपनी ५० हजार रुपैंयाका दरले मुआब्जा दिई अधिग्रहण गर्ने निर्णय भएको सिडिओ पाण्डेले बताए ।  

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्त राईका अनुसार जग्गा अधिग्रहण गर्न तोकिएको मुआब्जा दिएर गाउँपालिकाको नाममा नामसारी गरिदिन मालपोत कार्यालयलाई पत्राचारसमेत गरिसकेको छ । मुआब्जा रकम र जमिनको क्षेत्रफल उल्लेख गर्दै माघ ८ गते प्रशासनले मालपोतलाई जग्गा रोक्का गर्न पत्राचार गरिएको गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसमेत रहिसकेका राईले बताए ।  

प्रशासनको पत्राचार भईसकेकाले मुआब्जा बितरण गरेर जमिन अधिग्रहण प्रक्रिया अघि बढाइने गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले बताए । उनका अनुसार गाउँपालिकाले जग्गा अधिग्रहण गर्दा ४९ लाख ७२ हजार ८ सय ९८ रुपैंया मुआब्जा बितरण गर्नुपर्ने भएको छ । सो रकम चालु वर्ष जमिन व्यवस्थापन र मुआब्जाका लागि गाउँसभाबाट बिनियोजित बजेटबाट भुक्तानी दिइने अधिकृत राईले बताए ।

अधिग्रहण गर्नुपर्ने जमिन बिभिन्न २१ जनाको परेको गाउँपालिकाका लेखा सहायक ज्ञानेन्द्र राईले बताए । उनका अनुसार सबभन्दा बढी मुआब्जा तिलकबहादुर कार्कीले पाउने भएका छन् । २० रोपनी ११ आना १ पैसा १ दाम जमिन अधिग्रहणमा परेर उनले १० लाख ३५ हजार ३ सय ५१ रुपैंया मुआब्जा पाउने भएका छन् । त्यस्तै दोस्रो ठूलो रकम मुआब्जा पाउनेमा मानबहादुर तामाङ छन् । १२ रोपनी १ पैसा १ दाम जग्गाको तामाङले ७ लाख ७ सय ८१ रुपैंया मुआब्जा पाउने राईले बताए ।  

जमिनको व्यवस्थापनसँगै ३ वर्षअघि सुरु गर्ने भनिएको टावर निर्माणको योजनाले गाउँलेहरु खुसी भएका छन् । यसअघि टावर निर्माण शीर्षकमा झण्डै २० लाख हाराहारी खर्च भईसकेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताएका छन् । उनका अनुसार डिपिआरमा १८ लाख खर्च भएको छ भने नक्शा डिजाईनलगायत कार्यमा अन्य रकम खर्च भएको बताइएको छ । त्यसबाहेक दुईवर्षअघि गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले १० लाख खर्च गरेर प्रस्तावित भ्युटावरस्थलमा ३ दिने महोत्सवसमेत आयोजना गरिएको छ ।

प्रकाशित: २७ माघ २०७७ १३:२८ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *