देश विदेश

चिनी उद्योगले उखु पाउनै छोडे

शेयर गर्नुहोस्

एक दशक अघिसम्म पश्चिम नवलपरासीका किसानले ३२ लाख क्वीन्टलसम्म उखु उत्पादन गर्थे। जिल्लाका तीन वटा चिनी उद्योगले तीन महिना लगातार उखु क्रसिङ गर्थे अनी करिब २ लाख ८८ हजार क्वीन्टल चिनी उत्पादन हुन्थ्यो । तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासिनताले अहिले उखु किसानलाई मात्रै हैन चिनी उद्योगलाई पनि धरासायी बनाएको छ ।

उद्योगीको दादागिरीबाट आजित भएका किसानले उखु खेती मासेका छन । भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन् । जसका कारण यहाँका तीन वटा चिनी मिल संचालन हुन सकिरहेका छैनन । सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोश्रो साता देखि क्रसिङ सुरु गरेको थियो । तर प्रयाप्त उखु नपाएपछि एकसाता नहुँदै मिल बन्द गरीयो । क्रसिङको सूचना किसानका घरघरै पुर्‍याउँदा पनि अधिकांस किसानले भेली उद्योगलाई उखु बेचिदिए । उखु नै नपाएपछि उद्योग नियमित रुपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए । दैनिक १५ हजार क्विन्टल उखु क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा २ लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ । पोहोर यो उद्योगले ७ लाख ७० हजार क्वीन्टल क्रसिङ गरेको थियो । ‘यसपाली उखु प्रयाप्त नपाएपछि उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं’ महाप्रबन्धक काफ्लेले भने । उनका अनुसार फुल फेजमा उद्योग चलाउन नपाउँदा उत्पादन लागत बढ्छ ।

नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ । यी दुइ उद्योग पोहोर चलेनन । यी उद्योगले दुइ बर्ष अघिकै उखुको भुक्तानी अझै पुरा दिएका छैनन । तीन बर्ष अघिकै भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली उद्योगलाई उखु बेचिदिए । इन्दिराले वर्षौदेखि किसानलाई प्रताडित गर्दै आएकाले प्रतापुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए । ‘इन्दिराले किसानलाई साह्रै रुवायो । कहिल्यै समयमा पैसा दिएन । आफ्नै पैसा माग्दा हामीलाई नै धम्की दिइयो,धेरै सहयौं अब सहदैनौ’ यादवले भने ।

सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान बर्षौदेखि पीडित छन । सरकारले तोकेको मूल्यसमेत नदिएर सताएपछि मिल गेट एरियाका किसानले उखु मासेर अन्य बाली लगाएका छन । सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौसम्म भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए । ‘धेरैले उखु मासीसके भएकाले पनि लुम्बिनीलाई उखु नदिने भनेर भेली उद्योगलाई बेचिदिए’ यादवले भने । २०७५ सालमा २ लाख क्वीन्टल बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन । मिल गेट एरियाको उखु मासिएपछि नवलपरासीकै प्रतापुर क्षेत्र र कपिलबस्तुबाट उखु ल्याउने तयारी छ । आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्वीन्टल ५२५ रुपँया नगदमा खरिद गर्ने भनेको छ । तर किसान भने अझैपनि उसलाइ उखु दिन राजी छैनन । लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आर्चायले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्वीन्टल ५२५ रुपैँया नगदमा उखु खरिदको तयारी भइरहेको बताए ।

महाप्रबन्धक आर्चायले उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अव नयाँ योजनाका साथ गती लिने दावी गरे । ‘गुमेको विश्वासलाइ फर्काएर उखु खेती बिस्तारकालागि किसानसंग सहकार्य गर्दैछौं’ आर्चायले भने । मिल गेट एरीयाका किसानलाइ पुनः उखु खेतीमा फर्काउन सिड लोन अर्थात उन्नत बिउ कार्यक्रम सुरु गरेको जानकारी दिए । उद्योगले प्रदान गरेको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाई दिएपछि सिड लोन चुक्ता हुनेछ ।

सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन । पोहोर साढे ७ हजार हेक्टरमा लगाइएको उखु यो बर्ष घटेर जम्मा ५ हजार हेक्टरमा सिमित भएको छ । उखु लगाएकाहरुले पनि भेली बनाउने उद्योगलाइ उखु बेचेका छन । भेली उद्योगले प्रतिक्वीन्टल ५२० रुपैँया नगदमा उखु खरिद गरीदिए पछि किसानहरु त्यतातिर आकर्षित भएका हुन ।

उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ । यस्तै अवस्था रहीरहे ३÷४ बर्षमा चिनी उद्योगहरु धरासायी हुने निश्चित छ । जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनी उत्पादनलाइ फेरि परनिर्भता तर्फ धकेल्ने छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *