देश विदेश

विदेशी पर्यटक भित्र्याउन बौद्धनाथ कोषले मास्टर योजना ल्याउँदै

शेयर गर्नुहोस्

काठमाडौं। बौद्धनाथ क्षेत्र विकास कोषले विदेशी पर्यटक भित्र्याउन मास्टर योजना ल्याउने भएको छ। कोरोनाका कारण विदेशी पर्यटकको आगमन कम भएकाले कोषले मास्टर योजना ल्याउने भएको हो।

कोरोनाका कारण करिब १० महिना लामो लकडाउनपछि बौद्धनाथ स्तुपामा अहिले विदेशी पर्यटकहरुभन्दा स्वदेशी पर्यटकहरुको चहलपहल बढी छ। बौद्धनाथ क्षेत्रविकास समितिमा काम गर्दै आएका सन्जे लामा र मिलन राईका अनुसार विशेष सिजनमा दैनिक एक सयदेखि आठ सयसम्म विदेशी पर्यटक आउने गर्दथे।

अहिले विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटक आउने गरेका छन्। सो क्षेत्रमा आउने पर्यटकहरू मध्ये चीन र भारतबाट धेरै आउने गरेका छन्।
बौद्धनाथ क्षेत्रविकास समितिका कार्यकारी निर्देशक बसन्त लामाका अनुसार कोरोना माहामारीअघि महिनामा पाँच हजार पाँच सयको हाराहारीमा आउने गरेका थिए तर अहिले विदेशी पर्यटकको संख्या शून्य रहेको छ।

निर्देशक लामाले भने, ‘कोरोनाका कारण अहिले पहिलाको भन्दा पर्यटक कम आउने गरेका छन्। आउने गरेका पर्यटक पनि सबै विदेशबाट आएका होइनन्, कोरोनाको माहामारीपछि यतै रहेका विदेशी पर्यटक हुन्।’

कोरोनाका कारणले गर्दा तयार पारेका धेरै कामहरु रोकिएको बताउँदै उनले भने, ‘लकडाउनपछि टिकट काउण्टर नै बन्द गरेका छौं। बौद्धनाथ स्तुपा घुम्न टिकट लिएका छैनौं र आय पनि शून्य रहेको छ।’

विश्व सम्पदा क्षेत्रमा पर्ने बौद्धनाथ स्तुपाको विकास हुन नसकेको भन्दै उनले भने, ‘भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा हामी रातदिन लागिपरेका थियौं तर कोरोनाका कारण अहिले सोचे जस्तो गर्न सकेनौं।’

उनका अनुसार यो आर्थिक वर्ष भित्रमा बौद्ध गेटबाट देखिने ढुङ्गा परिवर्तन, भित्रको इट्टा परिवर्तनदेखि लिएर सबै कार्य सकार्ने छौं। उनले भने, ‘कोरोनाका कारण रोकिएका धेरै कार्यहरु गर्न बाँकी छ त्यो पनि गर्ने छौं।’

विशेषगरी बौद्धनाथको गेट सानो भएको भन्दै उनले अझै पनि धेरै व्यक्तिहरुलाई नजिकै आएर पनि बौद्धनाथ कहाँ छ भनेर अलमल पर्ने गरेको गुनासो गरे। त्यसैले बौद्धको पहिचानको लागि पनि चुचेपाटी पासाङ लामा चोक, टुसाल चोक र बौद्ध पिपलबोटमा प्रवेशद्वार बनाउने सोचमा रहेको उनले जानकारी दिए।

बौद्धदेखि पशुपतिनाथ मन्दिर नजिकै भएकाले पर्यटक बौद्धदेखि पशुपतिनाथ र पशुपतिनाथदेखि बौद्ध आउन सजिलोको लागि इ–भेइकल बनाउने, धर्माशाला, संग्रहालय, आकासेपुल, पार्किङको व्यवस्था मिलाउने विषयमा आगामी दिनमा ध्यानदिने निर्देशक लामाले बताए। जसले विदेशी पर्यटकदेखि आन्तरिक पर्यटकलाई नै सजिलो हुनेछ।

तर सो योजना सम्पन्न गर्न अरु निकायहरुसँग छलफल गर्ने र बजेट सहयोग भए तयारीमा रहेको मास्टर योजना सफल हुने उनको भनाइ छ।
यतिबेला बौद्ध क्षेत्रका होटलहरुमा बसेका विदेशी पर्यटकहरु भने बौद्ध स्तुपामा घुम्न आउने गरेका छन्।

कोषले बौद्धनाथ क्षेत्रमा २४सैं घण्टा पर्यटकहरुलाई सुरक्षा–सुविधा दिने, पर्यटक प्रहरीको व्यवस्था गरिदिने, सरसफाई आदिमा ध्यान दिएको छ। कोषले वडा नं.६ को विकास निर्माण काम पनि गर्दै आएको छ। त्यो अन्तर्गत बाटोे, ढल, गुम्बाहरुलाई सहयोग गर्ने र विद्यार्थीहरुलाई छात्रवृद्धि दिने रहेको छ।

कोरोनाका कारण लामो समय बन्द रहदा पनि कोषले आफनो सम्पूर्ण कर्मचारीहरुको ५० प्रतिशत तलब कटौती गरेर कर्मचारीहरुको व्यवस्थापन गरेको निर्देशक लामाले जनाए। गत वर्षको आम्दानी पनि पूँजीगत खर्चमा कटौती गरेर अझैपनि छ महिनालाई खेप्न सक्ने गरेर बजेटको व्यवस्था गरेको उनले बताए।

निर्देशक लामाले भने, ‘सुन्नु पनि भएको होला अनि देख्नु पनि भएको छ, धेरै वर्षदेखि वर्षायाममा बौद्ध क्षेत्रभित्र तिीन चार महिना डुबान हुने गर्थियो अहिले त्यो समस्या समाधान भएको छ।’ त्यस्तै, बौद्धमा अग्नि नियन्त्रक यन्त्र राखेको तर त्यसको उद्घाटन गर्न भने बाँकी रहेको उनले बताए।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *