साइप्रस न्युज

साइप्रस सहित ८ देशमा नेपाली दूतावास स्थापना हुने

शेयर गर्नुहोस्

लामो समयको पहल पछि नेपाल सरकारले साइप्रस सहित विश्वका थप ८ वटा देशमा नेपाली दूतावास स्थापना गर्ने भएको छ। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा नेपालीका श्रम गन्तव्य देशका १२ जना राजदूतलाई बोलाएर  गत सोमबार र मंगलबार बसेको उच्चस्तरीय बैठकले वैदेशिक रोजगारीमा नयाँ गन्तव्य बनेका युरोपका पाँचसहित अन्य ३  मुलुकमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

पछिल्लो केहि वर्ष देखि  युुरोपका पोल्यान्ड, क्राेएसिया, रोमानिया, साइप्रस, सर्बिया, पोर्चुुगल, जर्मनी, ग्रिस, माल्टालगायतका देशमा ठुलो सङ्ख्यामा नेपाली चर्को रकम तिरेर गएकाले त्यसलाई सहज सरल गराउन दुतावास स्थापना गर्न लागिएको हो।

जसअनुसार पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड र टर्कीमा दूतावास स्थापना गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ स्थापना गर्न लागिएका दूतावासमा परराष्ट्र सेवाको उपसचिव, श्रम मन्त्रालयको अधिकृतस्तरको श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहनेछन् ।

उच्च स्तरीय बैठकको निर्णयअनुसार अब परराष्ट्र मन्त्रालयले आठ वटा देशमा दूतावास स्थापनाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि ती देशमा दूतावास स्थापना गरिने बताइएको छ ।

श्रम मन्त्रालयका अनुसार हाल विश्वका ३० वटा मुलुकमा नेपाली दूतावास छन् । महावाणिज्यदूतसहित ३७ वटा मुलुकमा सरकारको उपस्थिति छ तर दूतावास नभएका मुलुकले पनि नेपाली श्रमिकको माग गर्न थालेपछि नयाँ ठाउँमा दूतावास स्थापना गर्ने तयारी भएकाे हाे।

के छ अहिले को अवस्था ?

नेपालले १ सय ६८ मुलुकसँग कूटनीतिक सम्बन्ध कायम गरे पनि विभिन्न ३० वटा मुलुकमा ३९ वटा आवासीय नियोगमात्र छन्। कूटनीतिक सम्बन्ध कायम भएकै इटली, केन्या, सिंगापुर, जोर्डन, टर्की, भुटान, माल्दिभ्सलगायत १३८ मुलुकमा दूतावास छैनन्। रोजिरोटीको खोजीमा श्रम स्वीकृति लिएरै १७२ मुलुकमा नेपालीहरु पुग्ने गरेका छन् तर सबै गन्तव्य मुलुकमा कूटनीतिक नियोग भने छैनन्। जसकारण नेपाली ले बिनाकारण दुख पाउने गरेका छन्। कहिलेकाहीँ आपतकालीन अवस्थामा पर्दा उद्धार गर्न तथा हकहितका लागि पहल गर्न निकै चुनौती छ।

एउटा दूतावासलाई १३ मुलुक हेर्ने जिम्मा  

इजिप्टको कायरोस्थित नेपाली दूतावासले अफ्रिका र पश्चिम एशियाका १३ मुलुकहरु हेर्नुपर्छ। ती मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको उद्धार, राहत तथा सुरक्षालगायत श्रमिकको हित प्रवर्द्धनका विषयमा यो दूतावासले सहयोग पुर्‍याउँदै आएको छ। तर यो दूतावासमार्फत् ती १३ मुलुकका नेपालीलाई आवश्यक सेवा पुर्‍याउन सहज भने छैन।

भौगोलिक हिसाबले अफ्रिका र पश्चिम एशियाका १३ वटा मुलुकका श्रमिकहरुको पहुँच इजिप्टस्थित दूतावासमा पुग्न सहज छैन।  यस्तो अबस्थामा ती मुलुकमा कार्यरत नेपालीलाई अत्यावश्यक सेवा प्रवाह, सूचना सम्प्रेषण तथा आकस्मिक उद्धार गर्न परेमा सहज छैन।

साइप्रसलाई  भने इजरायल स्थित नेपाली  दुतावास हेर्ने गरेको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।